|  

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सुप्रिम सहकारीको १ लाख १ हजार १११ रुपैयाँ सहयोग

तनहुँ (थर्पु) — गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीका कारण घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुग्नुका साथै हजारौँ परिवारहरू प्रभावित भएका छन्।यस विषम परिस्थितिमा म्याग्दे–४, थर्पु, तनहुँस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मानवीय सहायताका लागि उदाहरणीय कदम चालेको छ। विपद् बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापना कार्यलाई गति दिन संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ) सहयोग हस्तान्तरण गरेको छ। 
विपद्को यस दुःखद घडीमा क्षति व्यहोरेका र कष्टकर जीवन बिताउन बाध्य भएका पीडित परिवारहरूप्रति गहिरो ऐक्यबद्धता जनाउँदै सहकारीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रदान गरेको हो।

समुदायको दुःख-सुखमा सधैँ साथ रहनु सहकारीको मूल मर्म रहेको उल्लेख गर्दै संस्थाले केवल वित्तीय कारोबारमा सीमित नरहेर मानवीय सहयोग र सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यमा सुप्रिम सहकारी सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

बाढी, पहिरोलगायतका विपद्ले पुर्‍याएको ठूलो भौतिक तथा मानवीय क्षतिपछि राज्यले सञ्चालन गरिरहेको राहत र पुनर्निर्माण अभियानमा सहयोग पुर्‍याउनु सम्पूर्ण नागरिक तथा संघ-संस्थाहरूको दायित्व भएको संस्थाको ठहर छ। संस्थाले उपलब्ध गराएको यो सहयोग रकमले विपद् प्रभावित क्षेत्रका नागरिकहरूको पुनर्निर्माण तथा राहत व्यवस्थापनमा थोरै भए पनि ठोस टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

साथै, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विपद्को यस संवेदनशील समयमा सबैलाई आफ्नो-आफ्नो ठाउँबाट ऐक्यबद्धता जनाउन र क्षमताअनुसार सहयोगको हात बढाउन समेत अपिल गरेको छ।


कुनै प्रतिक्रिया छैन