|  

मेरो देश, राष्ट्रिय हित, अशान्त पृष्ठभूमि र रोइरहेको मधेश: महेश भट्टराई

Blogger Image
​मेरो देश नेपाल, स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। १४२ जातजाति, १२४ भाषाभाषी, १० भन्दा बढी धर्मावलम्बी र हिमाल, पहाड र तराईमा बसोवास गर्दै आएका आम नेपालीलाई एकताको सूत्रमा आवद्ध गर्दै राष्ट्रिय हित प्रवर्द्धन गर्नु राज्यको दायित्व र नागरिकको कर्तव्य हो।

राष्ट्रिय हित

​नेपालको संविधानको धारा ५ मा राष्ट्रिय हितका आधारभूत विषय उल्लेख छन्। उक्त संविधानमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् भनी उल्लेख छ। संविधानकै भाग ३१ मा व्यवस्था भएको संविधान संशोधन अन्तर्गत नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन नहुने प्रावधानले समेत राष्ट्रिय हितको महत्त्व प्रष्ट हुन आउँछ।  
​तसर्थ राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मञ्च तथा फोरमहरूमा Track 1 Diplomacy तथा Soft Power को अभ्यासबाट आर्थिक कूटनीति कायम राख्दै स्वदेशमा नै लगानीमैत्री वातावरण कायम गर्न सकेको खण्डमा रोजगारीका अवसर सिर्जना भई आर्थिक विकासका (Growth in Economy and Human Development) आयामहरू कायम गर्न सकिन्छ। आन्तरिक कलह, द्वन्द्व, असहिष्णुता र खलबलिएको धार्मिक सद्भाव, ऐक्यबद्धता तथा सामञ्जस्यताले हाम्रो जीवन, स्वतन्त्रता र खुसीको खोजी तर्फको यात्रालाई (Life, Liberty and Pursuit of Happiness) पूर्णविराम लगाउँदै नयाँ भनिएका राजनीतिक दल होस् वा पुराना सबैप्रति आम नेपालीको वितृष्णाभाव जागृत हुने कुरामा कुनै दुई मत छैन।  

​अशान्त पृष्ठभूमि र रोइरहेको मधेश

​नेपालले विभिन्न आरोह र अवरोह पार गर्दै वर्तमान संविधानको धारा २३२ बमोजिम सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसात गरी तीन तहयुक्त संघीयताको अभ्यास गर्दै आएको छ। संघीय राज्य, विविधता व्यवस्थापनको सुन्दर अभ्यास हुनुपर्नेमा २०८२ भाद्र २२ र २३ को Gen. Z आन्दोलन, हाल मधेशमा चलिरहेको हिन्दु, मुस्लिम धार्मिक द्वन्द्व लगायतका हिंसात्मक गतिविधिले नेपालको सांस्कृतिक बहुलवाद (Cultural Pluralism) माथि नै प्रश्नचिह्न खडा गरिरहेको छ।  
​नेपालको राणाशासन (१९०३-२००७), वि.सं. २०४२ सालमा रामराजाप्रसाद सिंहको नेतृत्वमा भएको शृङ्खलाबद्ध बम विस्फोट, पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएको २०४६ सालको प्रथम जनआन्दोलन, २०५२ सालबाट माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र जनयुद्ध, राजतन्त्रको अन्त्य गरी गणतन्त्रको अभ्यास थालनी भएको ०६२/०६३ को दोस्रो जनआन्दोलन, २०७२ सालमा भएको थारुहट आन्दोलन, नेपालको संविधान जारी गर्दा मधेसवादी दलहरूको तीव्र असन्तुष्टि, Gen Z आन्दोलन, सुनसरीबाट सुरु भई सप्तरी, सिराहा तथा धनुषा जिल्लामा समेत फैलिएको मधेशको साम्प्रदायिक तनावले समाज रुपान्तरण र नवप्रवर्तनका आयाम कोरे वा गरेनन्, त्यसको समीक्षा हुन आवश्यक छ।  
​विभिन्न राष्ट्रिय तथ्याङ्कले मधेशको जीवनस्तर, साक्षरतादर अन्य प्रदेशको तुलनामा कम रहेको र गरिबीदर उच्च रहेको सङ्केत गर्दछ। सन्तुलित विकासका लागि वैकल्पिक रणनीति अगाडि सार्नुपर्ने यस क्षेत्रमा, यस्ता अशान्त गतिविधिले भौतिक पूर्वाधार तथा मानवीय जीवनमा ठुलो क्षति पुगेको आकलन गर्न सकिन्छ। आफ्नै समुदायको व्यक्ति सरकार प्रमुख रहँदा समेत मधेश रुनुपर्छ भने मधेशको आँसु पुछ्ने राजनेताको जन्म भएको छ छैन त्यो आमसमुदायको कौतुहलताको विषय हो।  

​सुनसरीको घटना पृष्ठभूमि

​यो घटना सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं. ३ को कप्तानगन्जमा भएको हो। मन्दिर बाहिर ठूलो आवाजमा डिजे बजाउने विषयमा विवाद भई हिन्दु तथा मुस्लिम समुदायबिच उत्पन्न भएको झडपले हाल सिङ्गो मधेश प्रदेश नै आक्रान्त भएको छ। हालसम्म चार जनाको दुखद निधन भइसकेको छ भने सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनीबाट राज्यले भौतिक क्षतिको समेत सामना गरिरहेको छ। सामाजिक सञ्जालका भड्किला अभिव्यक्ति, सामाजिक संवेदनशीलता ख्याल नगरी दिइएका राजनीतिक अभिव्यक्ति, विभिन्न विचारधारा र आस्थामा समाज विभाजित हुनु यस्ता घटनाका कारक र प्रतिफल हुन्। हुन त द्वन्द्वलाई समाज रुपान्तरणको आधार मानिन्छ तर यसको सही तवरले व्यवस्थापन गर्न सकिएन भने यसले विखण्डन समेत ल्याउँछ। भारत र पाकिस्तान विभाजनको प्रमुख कारण पनि धार्मिक द्वन्द्व नै थियो भन्ने कुरा राज्यले बिर्सनु हुँदैन। 

​अबको बाटो

​यति धेरै जनमत प्राप्त राजनीतिक दलबाट नागरिकले अपेक्षा गर्नु स्वाभाविक हो। नागरिकका आशालाई निराशामा परिणत हुन नदिनका लागि Win-Win Strategy मार्फत आन्दोलनरत पक्षको माग सम्बोधन मार्फत द्वन्द्व व्यवस्थापन गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न, अठोट र प्रतिबद्धतालाई कागजका सुन्दर पानामा सीमित नगरी चरणबद्ध व्यावहारिक अभ्यास हुन आवश्यक छ।

​लेखक: महेश भट्टराई
म्याग्दे-३, तनहुँ

कुनै प्रतिक्रिया छैन