|  

पूर्वतयारी र सुरक्षा कमजोरीले सुनसरीमा निम्त्यायो दुःखद घटना: प्रशासनको बेवास्ता र बल प्रयोगमाथि गम्भीर प्रश्न

तस्बिर स्रोत: अनलाइन खबर
दमौली।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा डिजे बाजाको विवादलाई लिएर दुई समुदायबीच भएको झडप र प्रहरीको गोली प्रहारबाट एक युवकको मृत्यु भएपछि स्थानीय प्रशासन र सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। साउन १० गते आइतबार राति भएको उक्त हिंसात्मक झडपमा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ भने सुरक्षाकर्मी र सर्वसाधारण गरी करिब दुई दर्जन मानिस घाइते भएका छन्।

तस्बिर स्रोत: अनलाइन खबर
​सप्तकोशी नदीबाट जल लिएर फर्किएका बोलबम तीर्थयात्रीहरूले चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच भनाभन र धकेलाधकेल सुरु भएको थियो। स्थिति उग्र बन्दै जाँदा घरेलु हतियारसहित झडप, तोडफोड र आगजनी भएपछि प्रहरीले गोली चलाएको थियो। तर, यो घटना अकस्मात् नभई विगत चार दिनदेखि कायम रहेको विवादलाई स्थानीय प्रशासनले बेवास्ता गर्दाको परिणति भएको स्थानीय र सरोकारवालाहरूको भनाइ छ।

​प्रशासन र गृहमन्त्रालयको कार्यशैलीमाथि प्रश्न

​घटना घट्नुभन्दा चार दिन अघिदेखि नै सोही स्थानमा धार्मिक झण्डा राख्ने, हटाउने र डिजे बाजाको विषयलाई लिएर विवाद चलिरहेको थियो। अति संवेदनशील मानिएको सो क्षेत्रमा अघिल्ला दिनहरूमा नै विवाद सल्टाउन तदारुकता नदेखाउनु जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिको ठूलो कमजोरी मानिएको छ।
तस्बिर स्रोत: अनलाइन खबर
​यसैगरी, गृहमन्त्री सुधन गुरुङको निरन्तरको तराई–मधेश दौडाहा र सुरक्षा निर्देशनहरूसमेत तल्लो तहको सुरक्षा व्यवस्थापनमा निष्प्रभावी देखिएको विश्लेषण गरिएको छ। पूर्वसुरक्षा अधिकारीहरूका अनुसार फरक-फरक समुदायको बाहुल्य रहेका संवेदनशील क्षेत्रहरूमा पर्व र उत्सवका बेला अपनाउनुपर्ने विशेष सतर्कता, भूगोल र जातजातिको संवेदनशीलता अनुसारको ठोस पूर्वतयारीको साटो निर्देशनमा मात्र सीमित हुने प्रवृत्तिले सुरक्षा सुदृढ हुन सकेको छैन।

​अनावश्‍यक बल प्रयोग र गोली प्रहारको आरोप

​घटनामा सुरक्षा निकायले आत्मरक्षाका लागि करिब २० राउन्ड हवाई फायर गरेको दाबी गरे पनि घाइते तथा मृतकको प्रकृतिले फरक कथा बोलेको छ। घाइते भएका अधिकांश सर्वसाधारण (जयप्रकाश मेहता, मिथलेश यादव, अमलेश मेहता, अमित कुमार यादव लगायत) को कम्मरभन्दा माथि—काँध, पेट र कोखामा गोली लागेको छ।
तस्बिर स्रोत: अनलाइन खबर

​यसले प्रहरीको बल प्रयोग शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गोली चलाउनुपर्ने अवस्थै नभएको स्थानमा सर्वसाधारणमाथि सोझै गोली चलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको शान्ति सुरक्षा कायम राख्न नसकेको भन्दै यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकार र गृहमन्त्रालयले लिनुपर्ने माग गरेका छन्।
​राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा पनि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाप्रति ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिइएको छ।

​सेना परिचालन, कर्फ्यु र दीर्घकालीन समाधानको खाँचो

​घटनापछि स्थिति थप तनावपूर्ण बनेपछि सोमबार बिहानैदेखि सुनसरीका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। सडकमा हतियारसहित नेपाली सेना परिचालन गरिएको छ भने स्थानीय प्रशासनले माइकिङ गर्दै नागरिकहरूलाई घरभित्रै रहन आग्रह गरिरहेको छ।
​तराई मामलाका जानकार र सुरक्षा विश्लेषकहरूका अनुसार तराईका जिल्लाहरूमा चाडपर्वका समयमा हुने यस्ता साम्प्रदायिक झडप र विवादलाई रोक्न धार्मिक उत्सव, शक्ति प्रदर्शन र डिजे बाजाको प्रयोग सम्बन्धी स्पष्ट आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ। अहिलेको सम्भावित साम्प्रदायिक जोखिम अन्यत्र फैलन नदिन राजनीतिक र सामाजिक पहलबाट स्थानीयस्तरमै तत्काल संवादमार्फत स्थायी समाधान खोज्न विज्ञहरूले सुझाव दिएका छन्।

कुनै प्रतिक्रिया छैन