तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पुबजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत एवं पुनःस्थापना स्वरूप आर्थिक सहायता प्रदान गरेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सङ्कटमा परेका परिवारहरूलाई तत्काल राहत पुर्याउने उद्देश्यले समितिले २ लाख २ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
समितिका अध्यक्ष नरसिंह रानाले राष्ट्रिय विपत्तिको यस कठिन परिस्थितिमा पीडित नागरिकहरूको दुःखमा मल्हम लगाउनु संस्थाको दायित्व भएको बताउनुभयो। मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हेतुले नै उक्त रकम कोषमा दाखिला गरिएको उहाँको भनाइ छ। भोटेकोशीको बाढीका कारण रसुवा र नुवाकोट लगायतका विभिन्न भूभागमा ठूलो परिमाणमा जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न सङ्घसंस्था, स्थानीय तह, व्यवसायी एवं सर्वसाधारणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निरन्तर योगदान पुर्याइरहेका छन्।
विपदको घडीमा प्रभावित परिवारलाई सहयोग गर्नु सम्पूर्ण नागरिक तथा संस्थाहरूको साझा कर्तव्य भएको थर्पुबजार खानेपानी समितिले जनाएको छ। प्रस्तुत सहयोगले बाढीपीडितको उद्धार र पुनःस्थापना कार्यमा केही हदसम्म भए पनि सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्