|  

नेपाली ब्राण्ड यात्रीको नयाँ इलेक्ट्रिक स्कुटर ‘पी–टू’ बजारमा आउँदै, सिप्रदीको ५५ करोड लगानीमा धादिङमा प्लान्ट बन्दै

तस्बिर: यात्री मोटरसाइकलको फेसबुकबाट साभार गरिएको 
तनहुँ,

नेपालको पहिलो स्वदेशी इलेक्ट्रिक सवारी उत्पादक ब्राण्ड यात्री मोटरसाइकल्स (Yatri Motorcycles) ले आफ्नो बहुप्रतिक्षीत इलेक्ट्रिक स्कुटर ‘पी–टू’ (Yatri P2) बजारमा ल्याउने अन्तिम तयारी पूरा गरेको छ। चीन, भारत तथा अन्य मुलुकबाट आयातित स्कुटरहरूको वर्चस्व रहेको नेपाली बजारमा अब पूर्ण रूपमा नेपालमै डिजाइन र इन्जिनियरिङ गरिएको पहिलो इलेक्ट्रिक स्कुटर गुडाउने तयारी गरिएको हो।

​कम्पनीले आगामी भदौमा आयोजना हुने ‘नाडा अटो शो’ (NADA Auto Show) मा यस स्कुटरलाई औपचारिक रूपमा सार्वजनिक गर्ने रणनीति बनाएको छ।

६ वर्षको संघर्ष र कानुनी अड्चन

​सन् २०१७ मा काठमाडौँका ७ जना युवा इन्जिनियरहरूको समूहले नेपालकै आफ्नै इलेक्ट्रिक मोटरसाइकल उत्पादन गर्ने सोचका साथ असिम पाण्डेको नेतृत्वमा यात्रीको जग बसालेका थिए। दुई वर्षको निरन्तर अनुसन्धानपछि कम्पनीले ‘प्रोजेक्ट वान’ (P1) नामक प्रिमियम इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्‍यो। ३० किलोवाट मोटर पावर र फुल चार्जमा २३० किमी रेन्ज दिने उक्त बाइकले व्यापक चर्चा कमाए पनि देशको पुरानो यातायात कानुन (२०४९ को व्यवस्था) का कारण दर्ता हुन सकेको थिएन।

​नेपालमै सवारी साधन उत्पादन होला भन्ने परिकल्पना नगरिएको पुराना कानुनले गर्दा दर्ताका लागि भन्सार प्रज्ञापन पत्र अनिवार्य मागिएपछि यात्रीले ठूलो कानुनी संघर्ष भोग्नुपर्‍यो। चौतर्फी जनदबावपछि सरकारले कानुन संशोधन गरेसँगै २०८० जेठमा मात्र यात्रीले नेपालमा सवारी दर्ताको कानुनी अधिकार प्राप्त गरेको थियो।

सिप्रदीसँग व्यावसायिक सहकार्य र ५५ करोडको लगानी

​डिजाइन र प्रविधिमा सफल भए पनि व्यावसायिक रूपमा ठूलो संख्यामा उत्पादन (Mass Production) गर्न र देशभर नेटवर्क फैलाउन यात्रीले बलियो साझेदारका रूपमा अटोमोबिल कम्पनी सिप्रदी ट्रेडिङसँग हात मिलाएको छ। २०८१ असारमा स्थापित दुवै कम्पनीको ऐतिहासिक सहकार्यबाट ‘सिप्रदी यात्री प्रा.लि.’ सञ्चालनमा छ।
साझेदारी अनुसार यात्री टिमले डिजाइन, अनुसन्धान र विकास (R&D) र नयाँ प्रविधिको विकास सम्हाल्नेछ भने सिप्रदीले उत्पादन प्लान्ट निर्माण, बजार व्यवस्थापन र बिक्रीपछिको सेवा (After Sales Service) को जिम्मेवारी लिएको छ। यसै अन्तर्गत सिप्रदीले रु. ५५ करोडको लगानीमा धादिङको गजुरीमा अत्याधुनिक उत्पादन कारखाना निर्माण गरिरहेको छ। यो उद्योगले वार्षिक ३० हजार वटा स्कुटर उत्पादन गर्ने क्षमता राख्दछ।

कस्तो छ ‘यात्री पी–टू’ ?

​बूढानीलकण्ठस्थित डिजाइन स्टुडियोमा ६० जना नेपाली इन्जिनियरहरूको टोलीले यस स्कुटरको डिजाइन र प्रोटोटाइप तयार पारेका हुन्। नेपालको भौगोलिक बनावट र सडक अवस्थालाई मध्यनजर गर्दै तयार पारिएको ‘पी–टू’ ले हाल बजारमा रहेका अन्य इलेक्ट्रिक स्कुटरहरूमा देखिने उकालोमा नतान्ने, कम रेन्ज र कम ग्राउन्ड क्लियरेन्स जस्ता समस्याहरूलाई हल गर्ने दाबी गरिएको छ।

  • लुक्स र डिजाइन: नेकेड मोडर्न (Naked Modern Looks), एग्रेसिभ र मस्कुलर लुक्स।
  • सस्पेन्सन र ब्रेकिङ: अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेक तथा टु–साइडेड रियर स्प्रिङ सस्पेन्सन।
  • स्थानीय उत्पादन: स्कुटरको मुख्य च्यासिस र रबरका पार्टपुर्जाहरू नेपालकै स्थानीय उत्पादकहरूसँगको सहकार्यमा तयार पारिएको छ भने केही प्राविधिक कम्पोनेन्ट र ब्याट्री बाहिरबाट आउटसोर्स गरिएको छ।

मूल्य र बजार प्रतिस्पर्धा

​कम्पनीले हालसम्म आधिकारिक प्राविधिक विवरण (Specifications) र मूल्य सार्वजनिक नगरे पनि बजारमा अहिले चल्तीमा रहेका स्थापित ब्राण्डका राम्रा स्कुटरहरूकै मूल्यको दायरामा रहने अनुमान छ। नाडा अटो शोमा बुकिङ खुला गरी आगामी दशैंसम्ममा यो स्कुटर ग्राहकको हातमा पुर्‍याउने लक्ष्य राखिएको छ।

​नेपाली बजारमा यादेया, एथर, चेतक र ओला जस्ता स्थापित चिनियाँ तथा भारतीय ब्राण्डहरूसँग यात्री पी–टूले प्रतिस्पर्धा गर्नुपर्ने भए पनि ‘मेड इन नेपाल’ ब्राण्डको ट्यागसिप्रदीको देशव्यापी बलियो सर्भिस नेटवर्क नै यात्री पी–टूको मुख्य सबल पक्ष (USP) बन्ने देखिन्छ।

कुनै प्रतिक्रिया छैन