|  

निर्मल पुर्जाको साहस र संघर्षको कथा बोकेको ‘१४ पिक्स’ वृत्तचित्र प्रदर्शन

तनहुँ । 
समाज सुधार युवा केन्द्रको आयोजनामा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को अदम्य साहस, संघर्ष र सफलताको कथामा आधारित ‘१४ पिक्स’ (14 Peaks: Nothing Is Impossible) वृत्तचित्र प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
म्याग्दे गाउँपालिका–३, धँयरे, तनहुँमा आयोजित कार्यक्रममा स्थानीय युवा, समाजसेवी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल छोटो समयमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेको साहसिक यात्रालाई वृत्तचित्रमार्फत प्रस्तुत गरिएको थियो।
कार्यक्रमले युवाहरूमा साहस, आत्मविश्वास, अनुशासन र ‘असम्भव भन्ने केही छैन’ भन्ने सकारात्मक सोच विकास गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ।
कार्यक्रममा समाज सुधार युवा केन्द्रका अध्यक्ष राजकुमार श्रेष्ठ ले निर्मल पुर्जाको साहस र सफलताको कथा नेपाली युवाका लागि प्रेरणाको स्रोत भएको बताउँदै यस्ता प्रेरणादायी कार्यक्रमले युवाहरूलाई सकारात्मक र सिर्जनशील कार्यमा अघि बढ्न ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गरे।
वृत्तचित्र प्रदर्शनसँगै निर्मल पुर्जाको अदम्य साहसप्रति सम्मान व्यक्त गर्दै दीप प्रज्वलन समेत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नेपाली युवाको क्षमता र साहसलाई विश्वस्तरमा चिनाउन निर्मल पुर्जाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।
समाज सुधार युवा केन्द्रले आगामी दिनमा पनि युवालाई लक्षित गरी सामाजिक, सांस्कृतिक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कुनै प्रतिक्रिया छैन