तनहुँ, साउन २०
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा करिब १० करोड रुपैयाँको निजी लगानीमा आधुनिक च्याउ उद्योग निर्माण सुरु गरिएको छ।
गण्डकी प्रदेशकै ठूलो क्षमताको च्याउ उत्पादन केन्द्र बनाउने लक्ष्यका साथ हाल उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ। पहिलो चरणअन्तर्गत जग्गा सम्याउने, पर्खाल लगाउने र उद्योग भवनको संरचना तयार पार्ने कार्य अघि बढाइएको छ।
व्यावसायिक र प्रविधिमैत्री उत्पादनमा जोड दिने यस उद्योगले च्याउ उत्पादनका साथै बीउ (स्पन) तयार पार्ने, स्थानीय किसानलाई सीपमूलक तालिम तथा प्राविधिक परामर्श दिने र बजार व्यवस्थापनमा समेत सहकार्य गर्ने योजना बनाएको छ।
उद्योगका सञ्चालक राजीव श्रेष्ठका अनुसार देशका विभिन्न जिल्लामा सञ्चालित सफल च्याउ फार्महरूको प्रत्यक्ष अध्ययन गरी प्राप्त अनुभव र आधुनिक प्रविधिलाई आत्मसात गर्दै यो परियोजना अघि बढाइएको हो। उद्योगमा स्थानीय बासिन्दा राजीव श्रेष्ठसहित विश्वजित रिमाल, हरिलाल श्रेष्ठ र मुखिया गुरुङको संयुक्त लगानी रहेको छ।
उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३० देखि ५० जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ। यसका साथै तनहुँका किसानहरूले बाहिरबाट बीउ ल्याउनुपर्ने बाध्यता हट्ने, आधुनिक प्रविधिमा आधारित च्याउ खेतीको विस्तार हुने र स्थानीयको आम्दानी वृद्धिमा प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय स्रोत, प्रविधि र दक्ष जनशक्तिलाई एकीकृत गर्दै अघि बढाइएको यो परियोजनालाई म्याग्दे गाउँपालिकाको कृषि क्षेत्रमा निजी क्षेत्रबाट भएको एक महत्त्वपूर्ण लगानीका रूपमा हेरिएको छ। उद्योग सञ्चालनसँगै तनहुँलाई च्याउ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्