तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ लाई आधिकारिक रूपमा जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा स्थानीय शासनका लागि तोकिएका ५१ वटा सूचकमध्ये ४९ वटा सूचकहरू पूरा गरेपछि यस वडालाई बालमैत्री घोषणा गरिएको हो।
वडा कार्यालयको आयोजनामा सम्पन्न भएको उक्त विशेष घोषणासभा तथा समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले बालमैत्री स्थानीय शासन केवल एउटा औपचारिक घोषणा वा कागजी प्रक्रिया मात्र नभई बालबालिकाको सर्वाङ्गीण अधिकार सुनिश्चित गर्ने दीर्घकालीन र महत्त्वपूर्ण अभियान भएको स्पष्ट पार्नुभयो।
त्यसैगरी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित वातावरण तथा बाल सहभागितासँग सम्बन्धित विभिन्न नीति तथा कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको जानकारी दिनुभयो। उहाँले वडा नं. ३ ले हासिल गरेको यो ऐतिहासिक सफलता सिङ्गो गाउँपालिकाकै निम्ति गर्वको विषय भएको बताउँदै आगामी दिनमा अन्य वडाहरूलाई पनि क्रमिक रूपमा बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो।
वडाध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, विभिन्न वडाका अध्यक्षहरू, स्थानीय बासिन्दा, महिला स्वास्थ्य स्वयंसेविका तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यो घोषणासँगै म्याग्दे–३ का बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा थप परिष्कृत सेवा तथा कार्यक्रमहरू सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्