थर्पु (म्याग्दे), ११ साउन ।
म्याग्दे गाउँपालिकाले स्थानीय तहमा उद्योग, व्यापार, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा विशिष्ट योगदान पुर्याउने अग्रणी व्यक्तित्वहरूलाई एक विशेष कार्यक्रमका बिच सम्मान गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीसहित स्थानीयस्तरमा सफल व्यावसायिक पहिचान बनाएका विभिन्न क्षेत्रका व्यवसायीहरूलाई दोसल्ला, कदरपत्र र सम्मानपत्रद्वारा सम्मानित गरिएको हो।
गाउँपालिकाभित्र व्यापार-व्यवसाय सञ्चालन गरी आर्थिक गतिविधिलाई चलायमान बनाउन, स्थानीय साधन-स्रोतको अधिकतम उपयोग गर्न र युवाहरूलाई स्वरोजगार बनाउन व्यवसायीहरूले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।
सम्मानित भएपछि म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीले स्थानीय सरकारले व्यवसायीहरूको श्रम र योगदानको कदर गरेकोमा आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा गाउँपालिका र निजी क्षेत्रबिचको सहकार्यलाई अझ मजबुत बनाउँदै स्थानीय उत्पादनको बजारीकरण र साना तथा मझौला उद्योगहरूको प्रवर्द्धनमा संघ निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो।
गाउँपालिकाका जनप्रतिनिधि तथा नेतृत्व वर्गले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै स्थानीय सरकार निजी क्षेत्रको विकास र लगानीमैत्री वातावरण निर्माणका लागि सधैँ सकारात्मक रहेको बताउनुभयो। स्थानीय तहबाट प्राप्त यस प्रकारको सम्मानले व्यवसायीहरूमा थप उत्साह थप्नुका साथै नयाँ पुस्तालाई पनि उद्यमशीलतामा लाग्न ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि, व्यवसायी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो। म्याग्देखबर डट कम परिवारको तर्फबाट पनि म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीसहित सम्पूर्ण सम्मानित व्यक्तित्वहरूमा हार्दिक बधाई तथा सफल व्यावसायिक यात्राको शुभकामना!
प्रतिक्रिया दिनुहोस्