|  

बालमैत्री वडा घोषणा र उत्कृष्ट सेवा प्रवाहका लागि वडाध्यक्ष अधिकारी सम्मानित

म्याग्दे (तनहुँ), साउन १२ — म्याग्दे गाउँपालिका–३ का वडाध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक टुकराज अधिकारी उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित हुनुभएको छ।
​आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक समारोहका अवसरमा उहाँलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको हो।
​वडा नं. ३ लाई गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गराउन सफल भएको, नागरिकलाई सहज एवम् गुणस्तरीय सेवा प्रवाह गरेको तथा वडाको समग्र विकासमा प्रभावकारी नेतृत्व प्रदान गरेको कदरस्वरूप अधिकारीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
​उहाँलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको थियो।
​सोही कार्यक्रममा उद्योग, पर्यटन, सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेसहित उत्कृष्ट कार्यसम्पादन गर्ने अन्य कर्मचारीहरूलाई पनि सम्मानित गरिएको थियो। गाउँपालिकाले उत्कृष्ट सेवा, सुशासन र परिणाममुखी कार्यसंस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

कुनै प्रतिक्रिया छैन