म्याग्दे, तनहुँ — म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक समारोहका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुख, कर्मचारी, जनप्रतिनिधि तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
सम्मानित हुने शाखा प्रमुखहरूमा उद्योग, पर्यटन, सहकारी तथा आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपाने, शिक्षा अधिकृत तथा शिक्षा एवम् सामाजिक विकास शाखाका प्रमुख विष्णु क्षेत्री र लेखा अधिकृत तथा आर्थिक प्रशासन शाखाका प्रमुख शिवजी थापा रहेका छन्। उनीहरूले पुर्याएको उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा सेवा प्रवाह र समग्र विकासको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
उनीहरूलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो।
गाउँपालिकाका अनुसार न्यौपानेले उद्यमशीलता प्रवर्द्धन, सहकारी सुदृढीकरण, पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन्। त्यसैगरी क्षेत्रीले शिक्षाको गुणस्तर सुधार, सामाजिक विकास र बालमैत्री कार्यक्रम सञ्चालनमा योगदान दिएका छन् भने थापाले वित्तीय अनुशासन, पारदर्शी बजेट व्यवस्थापन र सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
समारोहमा पशु विकास शाखा प्रमुख मुक्तिराम पौडेल, प्राविधिक विज्ञान पौडेल, वडा नं. ५ की सचिव विमला गैरे तथा कार्यालय सहयोगीद्वय महेन्द्रकुमार श्रेष्ठ र समुन्द आलेलाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको थियो।
यसैगरी, म्याग्दे गाउँपालिकाको पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएको र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ३ का अध्यक्ष टुकराज अधिकारीलाई विशेष सम्मान प्रदान गरियो।
प्रतिक्रिया दिनुहोस्