|  

जीवनका लागि खेलकुद: विकास संज्याल

खेलकुद आफैँमा एक बहुआयामिक विधा हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मनोरञ्जनका साथसाथै खेलाडीको व्यक्तिगत र राष्ट्रको पहिचान बनाउन सहयोग पुर्‍याएको हुन्छ। खेलाडीको र राष्ट्रको पहिचान सशक्त बनाउने विभिन्न माध्यमहरूमध्ये खेलकुद महत्त्वपूर्ण विधा हो। वर्तमान समयमा जीवनका लागि खेलकुद अपरिहार्य बन्दै गएको छ। किनभने हरेक खेल विधासँग मनोरञ्जनका साथसाथै राष्ट्रलाई गौरव महसुस गराउने सामर्थ्य हुन्छ; यी दुवै विषय हरेक क्षेत्रमा प्राप्त गर्न सकिँदैन। आफ्नो पहिचान बनाउन र देशको प्रतिष्ठा वृद्धि गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण रहन्छ।
उदाहरणका लागि, नेपालका क्रिकेटर सन्दीप लामिछाने र फुटबलर सावित्रा भण्डारी लगायतका नेपाली खेलाडीको खेल कौशलका कारण नेपाललाई विश्वभरि चिनिन मद्दत पुगेको छ भने पोर्चुगलमा जन्मिएका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसीले आफ्नै खेल कौशलका कारण आफ्नो देशलाई विश्वसामु परिचित गराएका छन्। खेलकुद र मानव जीवनलाई जोडेर हेर्ने हो भने यी एक अर्काका परिपूरक जस्तै हुन् भन्न सकिन्छ; किनभने जसरी खेलकुदमा हार र जित हुन्छ, त्यसरी नै जीवनमा पनि आरोह-अवरोह आएको पाइन्छ। जीवनमा लिइने कतिपय निर्णयले कहिले सफलता त कहिले असफलता प्राप्त हुन्छ। त्यस्तै खेलकुदमा पनि खेलाडी/निर्णायकको एउटा निर्णयले खेल र खेलाडीमा धेरै प्रभाव पार्छ। एउटा मानिसले जीवन व्यतीत गर्ने क्रममा कहिले हार नमानी अगाडि बढिरहन्छ, त्यसरी नै खेलकुदमा पनि खेलाडीहरूले खेलको समयावधि होस् या निश्चित सीमा रेखा होस्, पार नगर्दासम्म हार मान्नु हुँदैन भन्ने खेलको विश्वस्तरीय नैतिकता/मान्यता रहँदै आएको छ।
विश्वमा खेललाई 'खेलको भावनाले खेल्नुपर्छ' भन्ने विश्वस्तरीय मान्यता छ। यसै अनुरूप विभिन्न कारणले सम्बन्ध बिग्रिएका देशका खेलाडीले पनि खेल भावनाका साथ एकै टोलीमा वा प्रतिस्पर्धीका रूपमा खेल कौशल प्रदर्शन गर्दा सो देशका नागरिक रोमाञ्चित हुने गर्छन्। यसले खेल कूटनीतिमार्फत विभिन्न देशहरूबीचको विवाद समाधान गर्नसमेत सहयोग पुर्‍याएको पाइन्छ।
खेल प्रतिस्पर्धाका लागि मात्र खेलिँदैन। विभिन्न खेलकुद आयोजनाहरू एक-अर्काको सम्मानमा, कुनै विशिष्ट व्यक्तित्वको सम्झनामा र विभिन्न लक्षित वर्गका लागि सहयोग जुटाउन पनि सम्पन्न हुने गर्छन्। यसले गर्दा खेल जगतको विकास त हुन्छ नै, साथै लक्षित वर्गलाई मानवीय सहायता, राष्ट्रिय भावना, खेल भावना र खेलाडीको आत्मसम्मान अभिवृद्धि गर्न पनि मद्दत पुग्छ। खेलकुदले मुख्यतया व्यक्तिको शारीरिक तन्दुरुस्ती, खेलाडीको क्षमता वृद्धि, देशको पहिचान/गौरव र खेलप्रेमको भावनालाई एकीकरण गरेर राखेको हुन्छ। आम नागरिक व्यावसायिक रूपमा खेलकुदमा संलग्न नभए तापनि कसैले खेल हेर्न रुचाउँछन् भने कसैले सहभागिता जनाएर प्रतिस्पर्धा गर्न। खेलकुदले सर्वप्रथम व्यक्तिगत स्वास्थ्य राम्रो बनाउनुका साथै उत्कृष्ट प्रदर्शनमार्फत देशको नाम विश्वसामु चिनाउन र अन्य समकक्षी खेलाडीहरूमा प्रेरणा जगाउन काम गर्दछ।
नेपालमा खेलकुद विकासक्रमको इतिहास त्यति लामो नभए तापनि नेपालले विभिन्न खेल कौशलका माध्यमबाट आफूलाई विश्व मानचित्रमा स्थापित गर्न सफल भएको छ। उदाहरणका लागि विश्वकप क्रिकेट २०२४ को समूह चरणमा दक्षिण अफ्रिकासँग नेपाली खेलाडीले गरेको प्रदर्शन होस् वा एसिया कप २०२४ मा भारतसँगको, नेपालले सम्मानजनक खेल कौशल प्रदर्शन गरेको थियो। त्यस्तै, उमेर समूहमा महिला तथा पुरुष टोलीले विभिन्न टेस्ट मान्यता प्राप्त देशलाई पराजित गरेको प्रसङ्ग होस् या विभिन्न एथलेटिक्स खेलमा नेपालले साग खेलकुदमा गरेको प्रदर्शन, यसले नेपाली नागरिकलाई कति गौरव महसुस गराएको छ भन्ने कुरा सायदै शब्दमा बयान गर्न सकिएला।
नेपालमा विश्वस्तरीय खेलाडी र खेल प्रदर्शन हुन्छ भन्ने कुरा नेपालका विभिन्न पुरुष तथा महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय लिगहरू खेलिरहेको तथ्यले पुष्टि गर्छ। खेलकुदको महाकुम्भ ओलम्पिक होस् वा प्याराओलम्पिक, नेपालका खेलाडीले विभिन्न राष्ट्रिय किर्तिमान कायम गरेका छन्। पेरिस प्याराओलम्पिक २०२४ मा त नेपालकी शान पलेशा गोवर्धनले नेपालको खेलकुद इतिहासमा कांस्य पदक प्राप्त गरी पहिलो ओलम्पिक पदक विजेताका रूपमा नेपाललाई विश्वसामु चिनाउन सफल भइन्। यसले आम नेपाली नागरिकको शिर ठाडो बनाएको छ भने कैयौँ फरक क्षमता भएका खेलाडीहरूलाई खेलकुदमा लाग्न प्रोत्साहन पनि मिलेको छ।
नेपालका खेलाडीहरूले 'खेलकुद खेल भावनाले खेल्नुपर्छ' भन्ने सिद्धान्तमा प्रतिस्पर्धा गरिरहेका छन्। यसको उदाहरण हो— विश्वकप छनोट खेलमा नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले आयरल्यान्डका खेलाडीलाई रनआउट (स्टम्प) गरेनन्, किनकि नेपाली खेलाडीको भुलवश भएको अवरोधका कारण विपक्षी खेलाडी मैदानमा लडेका थिए। जुन खेल भावना (स्पोर्ट्सम्यानसिप) का कारण क्रिकेटको सर्वोच्च निकायले शेखलाई पुरस्कृत गरी विश्वस्तरमा नेपाली खेलाडीले देखाएको खेल भावनाको उच्च कदर गर्‍यो।
खेलकुद खेलाडीका लागि मात्र महत्त्वपूर्ण छैन, हरेक नेपालीले केही न केही खेल दैनिक जीवनमा खेलिरहेका छन्। कतिपयले आफूले नखेले पनि खेलाडीको प्रदर्शन र खेलको मज्जा लिने काम गरिरहेका छन्। अन्तर्राष्ट्रिय खेलकुद आयोजना नेपालमै हुँदा होस् वा बाहिर, नेपाली दर्शकले दिएको अभूतपूर्व समर्थनले विश्वलाई नै चकित पारेको छ। समर्थक अमेरिकामा हुन् वा नेपालको कीर्तिपुर मैदानमा, राष्ट्रिय प्रतियोगितामा हुन् वा मोफसलका प्रतियोगिताहरूमा, नेपाली दर्शकले देखाएको धैर्यता, आत्मविश्वास र समर्थन नेपाली खेलाडी र खेलप्रेमीले कसरी बिर्सन सक्लान र!
नेपालको फुटबलको कुरा गर्ने हो भने नेपाली खेलाडीले कमजोर भौतिक पूर्वाधार र न्यून पारिश्रमिकका बाबजुद राम्रो प्रदर्शन गर्दै आएका छन्। दक्षिण एसियाली खेलकुदमा भारतकै भूमिमा भारतलाई हराएर स्वर्ण जित्नु र एएफसी सोलिडारिटी कप जित्नु फुटबलका वर्तमान सफलता हुन्। हालै भारतमा सम्पन्न खो-खो विश्वकपले नेपालमा खेलको विविधता कति छ भन्ने देखाउँछ। विश्वकप खो-खोमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महिला तथा पुरुष दुवै विधामा उपविजेता बन्यो। यसले खो-खो खेलमा नेपाल शक्तिशाली राष्ट्र भएको परिचय विश्वजगत्मा दिन सफल भएको छ।
एउटा खेलाडीले राष्ट्रलाई दिने भनेको आफ्नो जीवन हो, तर राष्ट्रले खेलाडीलाई कसरी संरक्षण गर्छ र उनीहरूको परिवारलाई कस्तो बाँच्ने आधार दिन्छ भन्ने महत्त्वपूर्ण कुरा रहन जान्छ। घरपरिवारले आफ्नो सन्तानको खेल कौशल, सबल र कमजोर पक्ष हेर्दै केही राम्रो गरोस् भन्ने आशा राखेका हुन्छन् भने समग्र देशवासी अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो देशको राष्ट्रिय गान उद्घाटनमा मात्र नभई समापन सत्र (पदक वितरण) मा पनि बजिरहोस् भन्ने कामना गरिरहेका हुन्छन्।
नेपाली खेलकुदको जति विकास हुनुपर्ने हो त्यति हुन सकेको छैन; जति खेलाडीको सिप र ज्ञानको प्रयोग हुनुपर्ने हो त्यो भएको छैन; अनि जति खेलाडी र तिनका परिवारको आर्थिक तथा सामाजिक सुरक्षा हुनुपर्ने हो त्यति भएको पाइँदैन। तर पनि खेलकुदमा दर्शकको साथ, सहयोग र समर्थन उल्लेखनीय छ। क्रिकेट लिग (NPL) होस् वा फुटबल लिग (NSL), रंगशाला खचाखच भरिने दर्शकको उपस्थितिले खेलकुदप्रतिको माया र सद्भाव स्पष्ट पार्छ।
यो त भयो व्यावसायिक खेलाडीको प्रदर्शन र नेपालीहरूले खेललाई सहयोग गरी बाँचेको जीवनको कुरा। अब कुरा गरौँ व्यक्तिगत रूपमा खेलिने खेलका बारेमा। आफ्नो आत्मसन्तुष्टि र इच्छा पूर्ति गर्न पनि हरेक नागरिक खेलकुदमा लागिरहेको पाइन्छ। यसले मानिसको दिनचर्या, शारीरिक तन्दुरुस्ती र मानसिक अवस्थामा अमूल परिवर्तन ल्याउँछ भने दैनिक जीवन पनि सहज बन्दै जान्छ। खेलकुदले दीर्घकालीन रोगहरू लाग्ने सम्भावना कम गर्नुका साथै मानसिक रोग र खराब जीवनशैलीका कारण हुने रोगहरू न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ। यसले समग्र मानव जीवनको रक्षा र विश्वलाई नै स्वस्थ राख्न मद्दत गर्दछ।
विभिन्न समयमा नेपाली खेलाडीले राम्रो सेवासुविधाको कमीका बाबजुद राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुदमा निरन्तर योगदान दिइरहेका छन्। उनीहरूलाई प्रोत्साहित गर्ने परिवारलाई पनि सम्मान गर्न आवश्यक देखिन्छ। खेलकुदका क्रममा घाइते वा अशक्त भएका खेलाडीहरूलाई देशले उच्च सम्मान गरी राष्ट्रिय भावनाको अभिवृद्धि गर्नुपर्छ।
साथै, हाल नेपालमा रहेका खेल पूर्वाधारको स्तरोन्नति गर्दै नयाँ विश्वस्तरीय रंगशालाको निर्माण गर्ने, खेलाडीलाई जीवन निर्वाह गर्न सकिने पारिश्रमिक उपलब्ध गराउने, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने, घोषित पुरस्कारहरू समयमै भुक्तानी गर्ने र विश्वस्तरीय प्रशिक्षकको व्यवस्थापन मात्रै गर्ने हो भने पनि नेपाल खेलकुदमा सार्क क्षेत्रमा पहिलो हुने र ओलम्पिकमा स्वर्ण पदक जित्ने दिन त्यति टाढा रहने छैन। नेपालीहरूले पनि विश्वमञ्चमा छाती फुलाएर आफ्नो देशको खेल कौशल हेर्न पाउनेछन् भने विश्वले नेपाललाई खेलकुदमा उदाउँदो देशका रूपमा हेर्नेछ।
विशेष गरी नेपाली खेलकुदको नारा "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" ले भनेझैँ हरेक नागरिक खेलकुदको हिस्सा बन्नुपर्छ र सहभागिता जनाउनुपर्छ। खेलकुदमा लागिरहँदा खेल सुध्रिँदै गयो भने खेल कौशलका माध्यमबाट देशको अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्न पाइन्छ र व्यावसायिक खेल जीवन बिताउन सकिन्छ। यदि व्यावसायिक खेलकुदमा सफल हुन सकिएन भने पनि स्वास्थ्य अवस्था राम्रो हुन्छ र त्यो स्वस्थ शरीरले अन्य नवप्रवर्तनका कामहरू गरी परिवार र समाजलाई योगदान दिन सकिन्छ भन्ने दृष्टिकोणले यो नारा तय गरिएको हो।
त्यसैले, मानव जीवनमा खेलकुदले मानवीय एकताको कडीमा बाँधेर देश निर्माण, समग्र राष्ट्र निर्माणका साथै पृथ्वीमा बसोबास गर्ने आम नागरिकको जीवन निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

लेखकः विकास संज्याल
घरपझोङ गाउँपालिका
जोमसोम, मुस्ताङ
सम्पर्क नंः ९८६८२२३०५८

कुनै प्रतिक्रिया छैन