पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानेर हत्या गरेका छन्।
फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणअन्तर्गत रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले सुतिरहेका आफ्नै सहकर्मीको हत्या गरेका हुन्। दार्चुला घर भई प्युठ पदमा सोही गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टको हत्या गरेका हुन्।
राति ३:०० बजेदेखि ६:०० बजेसम्मको ड्युटीमा रहेका उनले बिहान ४:३० बजे सुतिरहेका विष्टमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
घरायसी विवादका कारण घटना घटेको प्रहरीको अनुमान छ। ड्युटीका बारेमा कुनै विवाद नरहेकाले घरायसी विवादकै कारण घटना घटेको हुन सक्ने वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज प्रहरी निरीक्षक वसन्त शर्माले जानकारी दिए।
मृतक विष्टको शरीरमा गोली लागेको बताइए पनि शरीरको कुन भागमा लागेको हो भन्ने विषयमा खुलेको छैन। “घटना घटेको हो, थप अनुसन्धान भइरहेको छ,” कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले भने।
मृतक विष्टको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गोली प्रहार गर्ने लोहार नेपाली सेनाको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्