महिलाहरूको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. ५ मा सञ्चालन गरेको तीनदिने सुगन्धित धुपबत्ती बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक विकास शाखाको आयोजनामा सञ्चालित उक्त तालिममा वडा नं. ५ का ३३ जना महिलाहरूले सहभागिता जनाएका थिए। स्थानीयस्तरमै सहजै उपलब्ध हुने कच्चा पदार्थको उपयोग गरी न्यून लगानीमा गुणस्तरीय धुप उत्पादन गर्न सकिने व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
धार्मिक तथा सांस्कृतिक गतिविधिमा धुपको निरन्तर बढ्दो मागलाई मध्यनजर गर्दै महिलाहरूलाई व्यावसायिक रूपमा आयआर्जनसँग जोड्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। तालिमको समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलाहरूको आर्थिक सशक्तीकरण स्थानीय सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै सिकेको सीपलाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक व्यवसायमा रूपान्तरण गर्न आग्रह गरे।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउन गुणस्तर, आकर्षक प्याकेजिङ र बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा नं. ५ का वडा अध्यक्ष शिवबहादुर आलेले आफ्नो वडालाई सुगन्धित धुप उत्पादनको ‘पकेट क्षेत्र’ का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको घोषणा गरे।
तालिममा सहभागी महिलाहरूले समेत यस किसिमका कार्यक्रमले घरायसी कामको ब्यस्तताका बीच पनि अतिरिक्त आम्दानीको स्रोत सिर्जना गर्न ठूलो सहयोग पुग्ने बताएका छन्। सहभागी महिलाहरूले सामूहिक रूपमा उद्यम समूह गठन गरी गाउँपालिकाको सहजीकरणमा बजार विस्तार गर्ने योजना बनाएका छन्।
प्रतिक्रिया दिनुहोस्