
तनहुँ, म्याग्दे — किसानहरूलाई आधुनिक र व्यावसायिक कृषीतर्फ आकर्षित गर्ने तथा स्थानीयस्तरमै आयआर्जनको बलियो आधार तयार पार्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ मा ५ दिने व्यावसायिक तरकारी खेती तथा कृषि उपज प्रवर्द्धन तालिम सम्पन्न भएको छ।
म्याग्दे गाउँपालिकाको कृषि शाखा र वडा कार्यालयको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिममा वडा नं. ७ का विभिन्न गाउँबस्तीका कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। परम्परागत खेती प्रणालीलाई छोडेर आधुनिक प्रविधि, बेमौसमी तरकारी उत्पादन, माटो परीक्षण, थोपा सिँचाइ तथा रोग-कीरा नियन्त्रणका उपायहरूबारे सहभागीहरूलाई व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठले वडा नं. ७ का अधिकांश भूभाग कृषि र पशुपालनका लागि उपयुक्त रहेकोले यस क्षेत्रका कृषकहरूलाई आत्मनिर्भर बनाउन वडा कार्यालयले सधैँ प्राथमिकता दिने बताए। उनले सिकेको सीपलाई खेतबारीमा उतार्न र उत्पादित तरकारीको सहज बजारीकरणका लागि गाउँपालिकाले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
सहभागी कृषकहरूले यस किसिमका तालिमले व्यावसायिक रूपमा तरकारी खेती गर्न र घरखर्च चलाउन ठूलो टेवा पुग्ने बताएका छन्। तालिमको अन्त्यमा सहभागी कृषकहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै तरकारीका उन्नत बीउबिजन समेत हस्तान्तरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्