|  

ढोरफिर्दीमा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि लेकसाइड युवा क्लबलाई

थर्पु (तनहुँ) ।
​पवित्र पर्व हरितालिका तीजको अवसर पारेर तनहुँको शुक्लागण्डकीस्थित ढोरफिर्दीमा आयोजित तेस्रो तथा भव्य सेभेन ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि पोखराको प्रतिष्ठित लेकसाइड युवा क्लबले जितेको छ। निकै नै प्रतिस्पर्धात्मक र रोचक बनेको फाइनल खेलमा स्थानीय प्रतिद्वंद्वी भ्याली युवा क्लब, शुक्लागण्डकी–९ घारीलाई भारी गोल अन्तरले पराजित गर्दै लेकसाइडले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।
​बिहीबार सम्पन्न भएको फाइनल भिडन्तमा लेकसाइड युवा क्लबले भ्याली युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। खेलको सुरुवाति चरण देखिनै आक्रामक खेल प्रस्तुत गरेको लेकसाइडका खेलाडीहरूले विपक्षी टिमलाई दबाबमा राखेका थिए। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गर्न सफल भएका खेलाडी विक खेलभरिमै चम्किएका थिए। शानदार प्रदर्शनका आधारमा उनले प्रतियोगिताकै ‘सर्वाधिक गोलकर्ता’ को उपाधि चुम्दै नगद रु. ५ हजारसहित आकर्षक मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
​प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि चुम्न सफल भएको विजेता लेकसाइड युवा क्लबले नगद रु. १ लाख १ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ। त्यसैगरी, कडा प्रतिस्पर्धा गरेर उपविजेतामा चित्त बुझाउन बाध्य भएको भ्याली युवा क्लबले नगद रु. ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो।
​क्षेत्रभरिका खेलप्रेमीहरूको ठूलो उपस्थिति रहेको यस प्रतियोगितामा कुल २३ वटा टिमहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रतियोगिताको औपचारिक उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेद्वारा संयुक्त रूपमा दीप प्रज्वलन तथा ब्यानर पढेर गरिएको थियो। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा मुख्य अतिथिको रूपमा रहनुभएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
​स्थानीय युवाहरूमा खेलकुदप्रति रुचि जगाउन र तीज पर्वको अवसरलाई खेलकुदसँग जोडेर उत्सवमय बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो। शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का विभिन्न टोल विकास संस्थाहरूको संयुक्त आयोजना तथा वडा नं. ८ को कार्यालयको सहआयोजनामा खेल सम्पन्न भएको थियो। फुटबल प्रतियोगितासँगै तीज पर्वको अवसरमा स्थानीयस्तरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएको मेला सचिव विपेन्द्रसेन ठकुरीले जानकारी दिनुभयो।

कुनै प्रतिक्रिया छैन