|  

तनहुँमा व्यावसायिक मौरीपालनप्रति कृषकको आकर्षण बढ्दै

तनहुँमा व्यावसायिक मौरीपालनप्रति कृषकको आकर्षण बढ्दै
मौरीपालनप्रति कृषकको आकर्षण बढ्दै
दमौली।
जिल्ला कृषि विकास कार्यालय तनहुँले किसानका लागि मौरीपालन तालीम, अनुदानमा घारहरू र मौरीका गोलाहरू वितरण गरेसँगै तनहुँमा मौरीपालनतर्फ कृषकहरूको आकर्षण बढ्दै गएको छ। मौरीका लागि सुहाउँदो हावापानी र मौरीले उत्पादन गर्ने महको राम्रो बजार भएका कारण पनि यस व्यवसायतर्फ आकर्षण बढेको हो। तनहुँमा पहिले रहर वा शोकका लागि मात्र मौरी पालिने गरिएकामा हाल व्यावसायिक रूपमै पालन हुने क्रम बढेको कार्यालयले जनाएको छ।
जिल्लामा मौरीपालक कृषकहरूलाई उत्प्रेरित गर्दै लगिएको कारण नै व्यावसायिक पालन गर्नेहरूको सङ्ख्या बढेको जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख चेतनाथ अधिकारीले बताए। आर्थिक वर्ष २०७३/०७४ मा मौरीपालनका लागि कार्यालयबाट किसानहरूलाई मौरी र गोला समेत गरेर ८ सय ३५ वटा घारहरू वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय तनहुँका बाली विकास अधिकृत कृष्णराज खनालले जानकारी दिए।
मौरीपालन गर्दा वातावरण पनि सन्तुलित रहने हुनाले कृषकहरूका लागि कार्यालयले प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरेको अधिकृत खनालको भनाइ छ। अन्य पेशाभन्दा मौरीपालन गर्न निकै सजिलो भएको र यसमा सामान्य रेखदेखबाहेक ठूलो झन्झट बेहोर्न नपर्ने हुँदा मौरीपालन एक उत्तम व्यवसायको रूपमा रहेको उनले बताए।
तनहुँमा हाल व्यावसायिक रूपमा ४ हजार ८ सय १९ भन्दा बढी घारहरूमा मौरीपालन गरिएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ। तनहुँमा व्यावसायिक रूपमा वार्षिक १५ टन मह उत्पादन हुने गरेको छ र यहाँ उत्पादित मह स्थानीय बजारमै बिक्री हुने गर्दछ। आर्थिक वर्ष २०७३/०७४ मा भने १७.५ टन मह उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय तनहुँकी सूचना अधिकृत शशी अधिकारीले बताइन।
उनका अनुसार वर्षैनी १ घारबाट ३ किलोग्राम ६ सय ग्रामसम्म मह उत्पादन हुने गर्दछ। बच्चादेखि वृद्धसम्म सबैको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्ने र औषधी बनाउन समेत प्रयोग हुने भएकाले महको बजारमा उच्च माग रहेको कार्यालयको भनाइ छ। तनहुँमा उत्पादित मह उच्च गुणस्तरको हुने र उत्पादन स्थलबाटै बिक्री हुने भएकाले बजारको कुनै समस्या नरहेको मौरीपालक कृषकहरू बताउँछन्। यहाँ मह प्रतिकेजी ४ सयदेखि १ हजार रुपियाँसम्मको दरले बिक्री हुने गरेको छ।
बजारको मागअनुसार मह उत्पादन हुन नसकेकाले मौरीपालनको व्यावसायिक विस्तारबाट मनग्य आम्दानी लिन सकिने अधिकृत खनालको भनाइ छ। किसानको चाहना र आत्मबल अनुसार आफूहरू सहयोग गर्न तयार रहेको उनले बताए। तनहुँमा व्यास नगरपालिकाको क्यामिन क्षेत्र, शुक्लागण्डकीको दबुङ, भुजिकोट, ढोरफिर्दी, बैदी, बन्दीपुर र रूपाकोट लगायतका क्षेत्रहरूमा सेरेना जातको मौरीको व्यावसायिक पालन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ।
— सम्झना रसाइली

कुनै प्रतिक्रिया छैन